काठमाडौ, असोज २२ – मंसिर ४ गते हुने संविधानसभा चुनावका लागि उम्मेदवारी दिएकाहरुले मंगलबार आफ्नो नाम फिर्ता लिन सक्नेछन् ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार उम्मेदवारलाई नाम फिर्ताको लागि समय दिइएको छ । यसअघि सोमबार आयोगले प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरुको नामावली प्रकाशित गरेको थियो । आयोगले उम्मेदवारी दिएका ११ जनाको नाम बदर गरेको छ ।
यसैबीच दलहरु मंगलबार पनि चुनावी प्रचार र अभियानमा व्यस्त छन् । दशैंको अवसरमा हुने शुभकामना आदानप्रदान र चियापान कार्यक्रम मार्फत दलहरुले चुनावी अभियानलाई निरन्तरता दिएका छन् । कतिपय उम्मेदवार आफ्नो निर्वाचन क्षेत्रमा पुगिसकेका छन् ।
घोषणापत्र बनाउने काम पनि धमाधम भैरहेको नेताहरुले बताएका छन् । एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसवादी दलले केही दिनमै घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेका छन् ।
राप्रपा नेपालले भने मंगलबार नै घोषणापत्र सार्वजनिक गर्ने बताएको छ । दिउँसो १ बजे पत्रकार सम्मेलन मार्फत घोषणापत्र सार्वजनिक गरिने राप्रपा नेपालले जनाएको छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !