प्रहरीद्वारा अनुसन्धान सुरु
दैलेख, आश्विन २५ - जिल्ला प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) हेमराज भट्ट र जवान कमलप्रसाद शर्माको कार्यालयभित्रै गोली हानी हत्या भएको घटनाको अनुसन्धान सुरु भएको छ । प्रहरी प्रधान कार्यालयद्वारा गठित भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी मधुप्रसाद पुडासैनी नेतृत्वको तीन सदस्यीय छानबिन समितिले अनुसन्धान थालेको हो । प्रहरी निरीक्षक भट्टलाई ओछ्यानमै सुतिरहेको अवस्थामा बिहीबार बिहान सवा ५ बजेतिर गोली हानिएको थियो । भट्टको हत्यालगत्तै उनका सुरक्षा गार्ड शर्मा आफ्नै कोठामा गोली लागेर घाइते भएको अवस्थामा फेला परेका थिए । गम्भीर घाइते शर्मालाई घटनालगत्तै उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो । अस्पताल लगेको केहीबेरमै उनको मृत्यु भएको हो । उनको पेटमा गोली लागेको पियो । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा इन्स्पेक्टर भट्टका सुरक्षा गार्डले हत्यापछि आत्महत्या गरेको बताए पनि घटना 'रहस्यमय' भएको मृतकका आफन्तहरूले बताएका छन् । घटनास्थलमा एक थान एसएलआर हतियार र ६ वटा गोली फेला परेका छन् । तीमध्ये ३ वटा पड्केका छन् । 'भट्टलाई सुतिरहेको अवस्थामा टाउकोको पछाडिको भागबाट २ गोली हानिएको छ,' जिल्ला प्रहरी प्रमुख डीएसपी प्रज्वल महर्जनले भने, बायाँ खप्पर, गिदी यत्रतत्र छरिएको थियो ।' हतियार सुरक्षा गार्ड कमलको कोठाको भुइँमा र कमल खाटमा लडेको अवस्थामा थिए । डीएसपी महर्जनले गोली पड्केको आवाज सुनेपछि आफू ब्युँझेको बताए । 'सुरुमा बाहिर जिल्ला अदालत (निर्वाचन अधिकृतका कार्यालय) तिर गोली चलेको अनुमान गरी बाहिर निस्कँदा तल्लो तलाबाट बारुदको धूवाँ निस्क्यो' उनले भने, तत्काल तल ओर्लिन डर लाग्यो । आवाज रोकिएपछि ओर्लिएँ र घाइतेलाई अस्पताल लैजाने बन्दोबस्त मिलाउन लागेँ । एसएलआर हतियार बिहानै कुन प्रहरीबाट त्यहाँ पुग्यो ?, कसले चलायो ? क-कसको संलग्नता छ भन्नेबारे अनुसन्धान गरिने भेरी अञ्चल प्रहरी प्रमुख (एसएसपी) मधुप्रसाद पुडासैनीले जनाए । प्रहरी प्रधान कार्यालयद्वारा गठित छानबिन समितिका संयोजकसमेत रहेका उनले भने, इन्स्पेक्टरका गार्डले वा अन्य कुनै प्रहरीले घटना घटाएको भन्ने सम्बन्धमा गहिराइसम्म पुगी अनुसन्धान गरिनेछ ।' एसएसपी पुडासैनीसहितको ३ सदस्यीय छानबिन टोलीले मृतकका शव, घटनास्थलको अवलोकन गर्नुका साथै जिल्लाका प्रहरीहरूसँग सोधपुछ थालेको छ । त्यो (एसएलआर) हतियार कोत घर र मोबाइल टोलीसँग मात्र हुन्छ । कसरी त्यहाँ पुग्यो र कसले चलाएको हो ? अनुसन्धानबाट सबै पत्ता लाग्छ,' उनले भने । प्रहरी प्रधान कार्यालयले एसएसपी पुडासैनीका अतिरिक्त डीएसपीहरू नरेशमान श्रेष्ठ र गुरुविष्णु काफ्लेलाई छानबिनका लागि बिहीबारै दैलेख पठाएको छ । हत्याका कारण बिहीबार बिहान प्रहरीका अधिकृतदेखि जवानसम्मको भान्सामा आगो बलेन । 'खाना बनाउन र खाने मनै लागेन । दुवै जना अति मिलनसार र साधारण स्वाभावका थिए । असाध्यै अकल्पनीय घटना देख्नुपर्यो' एक प्रहरी सहायक निरीक्षकले भने । यसैबीच, सुरक्षा गार्ड कमल शर्माले इन्स्पेक्टरको हत्या गरेको हुनै नसक्ने भन्दै उनका आफन्तहरूले दिनभर जिल्ला प्रहरी कार्यालयअगाडि नाराबाजी गरेका थिए । कमलका बुवा बद्रीप्रसाद शर्माले घटनाको सत्यतथ्य अनुसन्धान गर्नुपर्ने बताए । बाहिरबाट बन्दुक ल्याइनु, कपडा च्यातिनु, पेट (नाइटो) मा गोली लाग्नु, २ जना प्रहरी फरार हुनुजस्ता कारणले यो सुनियोजित हुनसक्ने आफन्तहरूको जिकिर छ । 'घटना हेर्दा धेरैजनाको संलग्नता छ मृतक जवान कमलका ससुरा नारायण शर्माले भने, यसका लागि कल डिटेल हेर्न जरुरी छ । दोषी कमलमात्र छैनन् ।' कमलका सहकर्मीहरूले भने दसैं बिदालाई लिई उनीहरूबीच विवाद भएको बताएका छन् । स्रोतका अनुसार उनले २ दिन आउट (बिदा) जान खोजेका थिए । डीएसपी महर्जन नेपालगन्जमा क्षेत्रीय सुरक्षा गोष्ठीमा भाग लिई बुधबार राति जिल्ला फर्किएका थिए । भट्ट बुधबारसम्म निमित्त कार्यालय प्रमुख थिए । प्रहरी निरीक्षक भट्ट महेन्द्रनगर ७ र जवान शर्मा दैलेखकै खड्कावाडा ५ निवासी हुन् । भट्ट गत वैशाखमा दैलेख सरुवा भई आएका हुन् ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !