Headlines News :
Home » » 'यो देश द्वन्द्वमा जान्छ, जान्छ'

'यो देश द्वन्द्वमा जान्छ, जान्छ'

Written By khabarraftar on Oct 9, 2013 | Wednesday, October 09, 2013

काठमाडौ, आश्विन २३ - सर्वप्रथम म यहाँ उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई दसैंको हार्दिक शुभकामना दिन चाहन्छु । साथीहरु, झण्डै १४ महिनाको काराबासपछि म आज जेलबाट मुक्त हुँदैछु । हुन त म पहिले पनि आठ-साढे आठ वर्ष जेल बसेको थिएँ । त्यो बसाई र यो बसाईमा अलि भिन्नता भयो । राष्ट्रको निम्ति, देशको निम्ति, प्रजातन्त्रको निम्ति, पञ्चायती व्यवस्थाकोविरुद्धमा मैले बचपनदेखि संघर्ष गर्दै आएको थिएँ । तपाईंहरुले थाहै होला मलाई जन्मकैद पनि भएको थियो । जनमत संग्रहपछि म पाँच वर्ष जेल पनि बसेको थिएँ । अण्डरग्राउण्डको काम पनि सात वर्ष गरेँ । र आज जुन अन्यायपूर्ण तरिकाले मलाई जेलमा हालियो । कानुनको राज्य मान्नुपर्छ भन्ने सिद्धान्त बोकेको हामी नेपाली कांग्रेसका कार्यकर्ताहरु त्यसैले मैले मप्रति भएको अन्यायपूर्ण फैसला पनि शिरोधार्य गरेर म जेलमा आएँ । स्वीकार गरेँ । र भोलिका दिनहरुमा नेपाली कांग्रेसलाई सुदृढ बनाउन, प्रजातन्त्रलाई यो देशमा मजबुत बनाउन, राष्ट्रियतालाई अझ गहिरोसँग मजबुत बनाउन म आफ्नो प्रयास जारी राख्नेछु । अब आसन्न चुनाव मंसिर ४ गते हुँदैछ । त्यो चुनावमा हाम्रा पार्टीका नेताहरुबाट केही कमीकमजोरीहरु भएका छन् । नेताहरुसँग अझै पनि समय छ, त्यसलाई सच्याउनुपर्दछ । बीपीको विचार बोक्ने साथीहरुलाई एक एक गरेर समाप्त गर्ने पार्टीभित्र कोसिस भएको छ, त्यो कुरालाई बिर्सन सकिँदैन । त्यसैले बारम्बार मैले भनेको छु, यो राष्ट्र रहेन, नेपाल रहेन भने हामी नेपाली भन्न पाउँछौं कि पाउँदैनौँ ? त्यसकारणले राष्ट्रियता र प्रजातन्त्रको सम्बन्धमा कुनै पनि शक्तिसँग, कुनै पनि व्यक्तिसँग सम्झौता हुन सक्दैन । त्यसैले राष्ट्रवादी शक्तिहरु, जो जुनसुकै विचारधारा बोकेको किन नहोस्, त्यो एक ठाउँमा उभिने बेला आउँदैछ । समयले त्यता डोहोर्‍याउँदैछ । अर्को कुरा, जुन मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चालाई निर्वाचनमा नल्याएर हुँदैन । हामी प्रजातन्त्रवादीहरु हौं सबैलाई समेटेर अघि बढ्नुपर्छ भन्ने हाम्रो सिद्धान्त हो । तर अहिले चुनावको मुखमा ३३ दलका पार्टीलाई बाहिर राखेर देशलाई द्वन्द्वमा लग्ने कोसिस गरिँदैछ । यो देश द्वन्द्वमा जान्छ, जान्छ । भोलि नेपाली कांग्रेसका कार्यकर्ता मारिन लागे । नेपाली कांग्रेसका कार्यकर्ता लुटिन, पिटिन लागे । भोलि सम्पत्ति जफत हुन लाग्यो भने त्यसको जवाफ कसले लिन्छ, नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले लिने कि नलिने ? बरिष्ठ नेता शेरबहादुर देउवाले लिने कि नलिने ? उपसभापति रामचन्द्र पौडेलले लिने कि नलिने ? त्यसकारण साथीहरु, आज जुन परिस्थिति भइरहेको छ । मेरो विश्लेषण के छ भने, हामी प्रजातन्त्रमा आस्था राख्ने चाहे जोसुकै होस्, चाहे जुनसुकै पार्टीको होस्, मिलेर जानुको विकल्प छैन । यो राष्ट्रियतालाई, पृथ्विनारायण शाहले बनाएको यो राष्ट्रलाई छिन्नभिन्न गर्ने कोसिस हुँदैछ त्यो नेपाली जनतालाई सैहृय हुँदैन । नेपाली दाजुभाइ दिदीबहिनीलाई सैहृय हुँदैन । हामी अन्तिम स्वाससम्म जुनसुकै शक्तिकाविरुद्ध लड्न तयार रहनेछौँ । म विशेष गरेर नेपाली कांग्रेसका साथीहरुलाई के भन्न चाहन्छु भने, टिकट नपाएर धेरै नेपाली कांग्रेसका साथीहरुले पार्टी छाड्नुभएको छ, म भन्छु उहाँहरुले गल्ती गर्नुभएको छ । संघर्ष गर्नुपर्छ । भाग्ने होइन । त्यसैले अहिले जोसुकैले टिकट पाइसके, जिल्लामा गइसके । त्यसैले नेपाली कांग्रेसले आफ्ना उम्मेदवारलाई जिताउनका लागि आफूले सकेसम्मको शक्ति, बल, बुद्धि, विवेक, तन, मन, धन दिएर जिताउनुपर्छ । नेपाली कांग्रेसले जितेमात्रै यो देशको प्रजातन्त्र दीगो हुन सक्छ । तपाईंले एमाओवादीलाई हेर्नुभयो । ठूल्ठूला लड्डु बाँडे, सपना बाँडे, देशलाई बर्बाद गरे । अबको बाटो बीपीकै बाटो हो । अब चुनाव हुँदैछ । चुनावसम्म म नेपाली कांग्रेसलाई जिताउनकै लागि लाग्नेछु । दुइटा न्यायाधीशले मेरो राजनीतिक भविष्य फैसला गर्न सक्दैनन् । यदि म साँच्चै नै भ्रष्टाचारी भए, भ्रष्टाचार गरेको भए कुन फाइलमा मैले भ्रष्टाचार गरेँ ? कसले भन्यो मलाई घूस खायो भनेर देखाउनुपर्‍यो नि त ? म बीपीको लाइनको मान्छे भएकाले मलाई बदनाम गराउन लाग्ने न्यायाधीशको फैसलाले रोक्न सक्दैन । अन्तिम निर्णायकर्ता नेपाली जनता हुन् । उहाँहरुले नै मेरो फैसला गर्नुहुन्छ । (भ्रष्टाचारी ठहर भएपछि १४ महिना जेलमा बिताएर रिहा भएका खड्काले संवाददाताहरुसित डिल्लीबजार कारागारमा व्यक्त गरेको विचारको सम्पादति अंश )
प्रकाशित मिति: २०७० आश्विन २३ ०१:२३ - 
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Original Design by Creating Website Modified by Dip